रोगबाट बच्न अर्गानिक खेती

अस्ति म क्यान्सर अस्पतालमा मेरी साहिँली हजुरआमा (मेरी आफ्नि हजुरआमा जेठी हुनुहुन्छ) लाई भेट्न गएको थिए। त्यहाँको लबिमा कुरीराख्दा क्यान्सर लाग्नुका कारण र क्यान्सर रोगबाट बच्ने तरिका सम्बन्धि भित्तामा झुन्डाईएका सुचनाहरु पढ्ने अवसर पाएँ।

त्यसक्रममा क्यान्सर रोगको प्रमुख कारक तत्वका रुपमा:
  • सर्वप्रथम त चुरोट र सूर्तीजन्य पदार्थ
  • र दोस्रोमा बिषादी प्रयोग भएका तरकारी र खाद्यबस्तु 
नै रहेको पाएँ।

त्यसमा पनि हामी, जो सूर्तीजन्य पदार्थ सेवन गर्दैनौँ, त्यस्ता मानिसलाई क्यान्सर हुने एउटै कारण देखिन्छ, जुन हो बिषादी युक्त खानाको प्रयोग।

शिक्षाको प्रभावले गर्दा हामीमा बासी र सडेगलेको खाना खान हुन्न भन्ने चेतना आईसकेको छ। हामी आफ्नो घरमा सम्भव भएसम्म सफा र ताजा खानेकुराहरु खाने कोसिस गर्छौँ। तर के त्यत्तिकैमा हाम्रो खाना स्वस्थकर हुन्छ त? के हामीले खाने खाना कसरी उत्पादन हुन्छ भन्ने कुरालाई हामीले ख्याल गर्छौँ त?

हो, हामीले अब त्यो कुरामा पनि ख्याल गर्नुपर्ने बेला आएको छ किनकी सम्पूर्ण ठूला ठूला क्यान्सर लगायतका रोगहरुको प्रमुख कारण भनेको बिषादि युक्त खाना नै हो। र त्यो बाहेक मिर्गौला, मुटु, कलेजो आदि जस्ता अति संवेदनशील अङ्गहरुमा लाग्ने रोगहरुको प्रमुख कारण पनि यही नै हो। त्यसकारण यदि हामीलाई त्यस्ता भयानक रोगहरुबाट बच्न मन छ भने अब हामीले अर्गानिक पद्धतिलाई प्रोत्साहन दिनुपर्छ र खेती गर्दा महँगै भएपनि अर्गानिक खेती नै गर्नुपर्छ।

वास्तवमा भन्ने हो भने लामो अन्तराल (Long term) मा अर्गानिक खेती हाम्रो लागि सस्तो पनि पर्न पनि जान्छ किनकी ति ठूला ठूला रोगबाट यदि हामी बच्यैँ भने उपचार गर्दा लाग्ने लाखौँ रुपैयाँको खर्च जोगिन्छ। त्यसैले आज महङ्गो परेपनि पछि सस्तो साबित हुने भएकाले म सम्पूर्ण उपभोक्तालाई अर्गानिक पद्धतिबाट उत्पादित तरकारी एवम् खाद्यान्न खोजि खोजि उपभोग गर्न अनुरोध गर्दछु।

त्यसैगरी अब खेतीमा लाग्ने सम्पू्र्णलाई किसानहरुलाई पनि म अर्गानिक तरिकाबाट नै खेती गर्न अनुरोध गर्छु। अनि बजार पाउने सबालमा केही समयलाई पक्कै पनि गार्‍हो होला। तर बिस्तारै मानिसले बुझ्दै जानेछन् र राम्रै मूल्य तिरेर स्वास्थ्यकर तरकारी र खाद्यान्न सामग्री उपभोग गर्नेछन् भन्ने मलाई लाग्छ।

त्यसैले पर्यावरणलाई जोगाउने र हाम्रो स्वास्थ्यलाई पनि फाईदा पुर्‍याउने अर्गानिक खेति नै सर्बोत्तम कृषि पद्धति हो र यही पद्धतिबाट खेती गर्नु नै हामी सबैको लागि फाईदाजनक हुनेछ।

हजुरहरु पनि यस बिषयमा आफ्ना विचारहरु भए कमेन्टमा राखिदिनुहोला।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...